बाउ-छोरा
घाम र पानी सहेर
खुईलीएका बीजुलीका तारहरूजस्तै
खस्रा भएकाछन् रक्तनलीहरु ।
पहाडका कान्लाहरूजस्तै
खण्डखण्ड भएको छ निधार ।
औँसीमा हराएको जुनजस्तै
अध्याँरा खोपील्टाभीत्र हराएकाछन् उज्याला आँखाहरू ।
समय सँगै
बुढा भएकाछन् बा’ ।
शरदले ढाकेको उदास पहाडजस्तै
कहिलेकाँही हास्छन् बा एकदम निरस, रंगहीन हाँसो ।
खिइएको छ
छोराले घोडा बनाएको काँध
घरिघरि खुम्चिन्छ
छोराले आकाश बनाएको छाती
कुजीएकाछन्
छोरालाई डोहोर्याऊँदै बाटा देखाउने औँलाहरु ।
भग्नावशेष बनेका छन्
झ्याल, ढोका, बुइँगल, छानो र भित्ताहरु
निवस्त्र भएको छ तुलसिको मठ
निशब्द छन् ढिकी, जाँतो र ओखल ।
बाजस्तै पुरातन भएको छ घर ।
छोरो चाहादैन
यी भित्ताहरुमा जीवन खोज्न
यो छानोमा भविष्य रोज्न
र देख्न चाहादैन ऊ
यी चुहावटका सपना पनि ।
गुनासो गरिरहन्छ छोरो
“रंगहिन भयो घर
सुगन्धबिहिन भयो बाको शरीर
थोत्रा भए सोच
पुरानै छन् विचारहरू
‘समय’ परिवर्तनको हो यो |”
बा’ बोल्दैनन्, मात्र समि्झन्छन्
छोरोलाई “जीवन” पढाएको त्यो दिन
जुन बेला छोराले
गरेको थियो कति अवोध प्रश्न-
“बा विचारका पखेंटा हुन्छन् कि हुदैँनन् ?
“परिवर्तन भन्ने ठाऊँ पुग्न पासपोर्ट चाहिन्छ कि चाहिदैन ?