आवरण
धुलाम्मे सडकमा उभ्याएर
औँला ठड्याईरहेको एउटा सिंगो ईतिहास
चुकुल लगाएर भीत्रबाट
के के उत्श्रिन्खल कुरा गरी बस्छ सिंहदरबार ।
बाहिर टाँसेर
बिधवा आईमाइको सेतो सारी
लेख्छ त्यही किताबमा कवि
तिजको गित ।
आवरण ओढेर के के कुराको
ढाँट्न जानिसके यहाँ मान्छेहरुले
ढाट्दै नढाँटी त मान्छे नै भइँदैन यो सहरमा ।
हेर्नोस् न
हिजो मात्रै
बलात्कार बिरुद्दको नारा लिएर विध्यालय छिरेकाछन्
एक हुल बलात्कारीहरु ।
धर्मको खोस्टो ओढेर
प्रवचन दिईरहेछ
एउटा आतंककारी
अदालत पनि
न्यायको पट्टी बाँधेर
तराजुमा तौलीरहेछ
दुई असमान मांसपीण्ड
नझुक्किनुहोला
जे छ त्यो पटक्कै देखीँदैन
जे देखीन्छ त्यो हुदैँ होइन
सडकपेटीमा मारीँदा घरबिहीनहरू
भेट्टाइन्छ बन्दुकको नालमा
बुद्धका आँखा
तस्वीरमा देखीएपनि नांगो आङ्ग
उसले झण्डाकै कम्मल बनाएर
कटाउने गरेको छ
हरेक वर्षको हिमपात
यहाँ आगोले पोल्दैन !
– चिस्याउँछ ।
होकि जस्तो लाग्न सक्छ,
तर हुदैँन ।
नझुक्कीनु है
जे छ त्यो देखीँदैन
जे देखीन्छ त्यो हुदैँ होइन ।